चीनको गौरवमय उदयको दर्शक मात्र बनेर बस्दैनौँ, सक्रिय साझेदार बन्छौँ: परराष्ट्रमन्त्री खनाल

image शनिबार, आषाढ ६ २०८३
image
A+ A A-

चीनको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ उद्योगी तथा लगानीकर्ताहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नुभएको छ । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित एक विशेष कार्यक्रममा चिनियाँ व्यावसायिक समुदाय, उद्यमी तथा लगानीकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले नेपाल अब चीनको आर्थिक प्रगतिको दर्शक मात्र बनेर नबस्ने स्पष्ट पार्नुभयो ।

नेपालले चीनसँग आर्थिक साझेदारका रूपमा अघि बढ्ने चाहना राखेको उल्लेख गर्दै मन्त्री खनालले भन्नुभयो, “नेपाल चीनको गौरवमय उदयलाई टुलुटुलु हेरेर बस्न चाहँदैन, हामी मूल्य अभिवृद्धि गर्ने सक्रिय साझेदार बन्न चाहन्छौँ ।”

सम्बोधनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा पर्यटन, सूचना प्रविधि (IT), स्वास्थ्य पूर्वाधार, हरित ऊर्जा तथा नवप्रवर्तन (Innovation) का क्षेत्रमा लगानीका प्रशस्त र आकर्षक अवसरहरू रहेको औँल्याउनुभयो । उहाँले चिनियाँ लगानीकर्ताहरूलाई नेपालका यी उदीयमान क्षेत्रहरूमा पुँजी र प्रविधि भित्र्याउन आग्रह गर्नुभयो ।

नेपाल सरकारले वैदेशिक लगानी भित्र्याउनका लागि कानुनी र नीतिगत सुधार गरिरहेको जानकारी दिँदै मन्त्री खनालले लगानीको सुरक्षामा जोड दिनुभयो । सरकारले संस्थागत सुधार, कानुनी परिमार्जन तथा नियामक संरचनालाई बलियो बनाउने कामलाई उच्च प्राथमिकतामा राखेको भन्दै उहाँले नेपालमा दिगो र सुरक्षित विदेशी लगानीमैत्री वातावरण निर्माण भइरहेको दाबी गर्नुभयो ।

नेपाल र चीनबीचको आर्थिक सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यका साथ आयोजना गरिएको यस कार्यक्रममा चिनियाँ उद्यमी तथा कर्पोरेट क्षेत्रका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । मन्त्री खनालको यस सम्बोधन र लगानीको आह्वानलाई नेपालमा चिनियाँ लगानी आकर्षित गर्ने र दुई देशबीचको आर्थिक कूटनीतिलाई थप बलियो बनाउने एक महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।